Media Coverage

विपन्न समुदायको जीवनस्तर उकास्न वाक नेपालको प्रयास: पञ्चदेवल विनायकमा अनुगमन सम्पन्न

अछाम । विपन्न समुदायलाई उद्यमशीलता र आत्मनिर्भरताको मार्गमा अघि बढाउने उद्देश्यसहित वाक नेपालले पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित परियोजनाहरूको अनुगमन सम्पन्न गरेको छ। शुक्रवार नगरपालिकाका वडा नम्बर १ र २ मा सञ्चालित  एकिकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना INRL-TP र पावर परियोजनाले सञ्चालन गरेका कामहरूको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा समुदायसँग गहन रूपमा छलफल गरिएको थियो । यसै बिचमा वडा नम्बर १ को मंगलासैनी ताजा तरकारी उत्पादक समूहका कृषकहरूले व्यावसायिक तरकारी खेतीमार्फत उल्लेखनीय प्रगति गरेका पाइएको छ । अगुवा कृषक गोकर्ण तिमिल्सैनाले वाक नेपालको प्रेरणाले आफू व्यावसायिक खेतीमा लाग्न सकेको र वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताए। उनले भने, “तरकारी खेतीबाट मेरो घर खर्च र छोराको अध्ययन सहज भएको छ।”

त्यस्तै, अर्का अगुवा कृषक भानुभक्त तिमिल्सैनाले वाक नेपालको तीन वर्षदेखिको सहयोगले आफ्नो आर्थिक अवस्था सुधारिएको बताए। उनले भने, “वाक नेपालले मलाई दुई वटा बाख्रा, विउ विजन, र सौचालय निर्माणमा सहयोग गर्‍यो। मेरो बच्चाले छात्रवृत्ति पनि पायो। यी सबै सहयोगका लागि वाक नेपालप्रति म अत्यन्तै आभारी छु।”

वडा नम्बर १ मा वाक नेपालमार्फत २५ घरपरिवार कृषि उत्पादन बाट प्रत्यक्ष लाभान्वित भएका छन्। कृषकहरूका अनुसार, वाक नेपालको सहयोगले उनीहरूको आयआर्जन र जीविकोपार्जनमा महत्त्वपूर्ण योगदान पुगेको छ। अनुगमन टाेलीले वाक नेपाल द्वारा निर्माण भएकाे सिचाइँ पाेखरीकाे पनी अनुगमन गरेकाे हाे 

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ की दुरी देवकोटाले वाक नेपालको सहयोगमा ६ वटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले १४ वटा बाख्रामा पुगेको र व्यावसायिक रूपमा बाख्रा पालनले आफ्नो ५ जनाको परिवार पाल्न सहयोग गरेको बताइन्। यस्तै, तारा देवकोटाले पनि वाक नेपालकै सहयोग बाट भैँसी पालनका लागी सहयोग पाएकी थिइन् । हाल उनले भैँसी पालनबाट वार्षिक ३०–४० हजार रुपैयाँसम्मको आम्दानी हुने गरेको उल्लेख गरिन्।

वाक नेपालको सहयोगमा सीपमूलक तालिम प्राप्त गरेका स्थानीयहरूको जीवनमा पनि उल्लेखनीय परिवर्तन आएको छ। कुइकाकी जयन्ती देवकोटाले डकर्मी तालिम पाएपछि आफ्नो आम्दानी दैनिक ५ सय बाट बढेर १२ सय दैनिक कमाउने गरेको बताइन्।

पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को देनवाडा ताजा तरकारी उत्पादक समूहमा २२ घरपरिवार वाक नेपालकै सहयोगमा व्यावसायिक तरकारी खेतीमा संलग्न छन्। स्थानीय कमला देवी शाहीले भनिन्, “पहिला खानाका लागि मात्र खेती गर्थ्यौँ। अहिले वाक नेपालको सहयोगमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्छौँ वार्षिक २ लाख रुपैयाँसम्मको आम्दानी गर्न सफल भएकी छु।”

अन्य स्थानीयले पनि वाक नेपालको सहयोगले आफ्नो जीविकोपार्जन सहज बनेको बताए। कृषक  गीता धामीका अनुसार, अब दैनिक उपभोग्य सामान किन्ने पैसा जुटाउन अरूसँग माग्न नपर्ने भएको खुसी व्यक्त गर्दै आफू आत्मनिर्भर भएकोमा गर्व महसुस गरिरहेको बताइन् ।

वडा नम्बर १ कै दीपिका धमालाले वाक नेपालको सहयोगमा किराना पसल सञ्चालन गरिरहेकी छन्। उनका अनुसार, पसल राम्ररी चलिरहेको छ र मासिक २० देखी २५ हजार रुपैयाँ आम्दानी गर्दै आएको छ। यस्तै वडा नम्बर २ की  मनीषा माझीले पनि वाक नेपालको सहयोगमा किराना पसल सञ्चालन गरिरहेको बताइन् । उनले पनि आफ्नो पसल राम्ररी चलेको र जीविकोपार्जनमा सहज भएको उल्लेख गरिन् ।

वाक नेपालले पञ्चदेवल विनायक नगरपालिकाका विभिन्न वडामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ। जाल्पेश्वरी माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ८ विद्यार्थीलाई वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराइएको छ। शैक्षिक गुणस्तर सुधारका लागि निःशुल्क ट्युसन कक्षाहरू समेत सञ्चालन गरिएको अनुगमन बाट बझीएको छ ।

स्वास्थ्य र सरसफाइका क्षेत्रमा समेत वाक नेपालले एकल महिला र विपन्न समुदायलाई सेवा प्रदान गर्दै आएको छ। यसले शिक्षा र स्वास्थ्यको पहुँच बढाउनुका साथै जीवनस्तर सुधार गर्न ठुलो भूमिका खेलेको छ।

स्थानीयहरूले वाक नेपालको परियोजनाले रोजगारी, आय आर्जन र सामाजिक सशक्तीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गरे। नागरिकहरूले यस्ता परियोजनालाई निरन्तरता दिन र थप विस्तार गर्न सुझाव दिएका छन्।

अनुगमन कार्यक्रममा वाक नेपालका महासचिव सुशीला बोगटी, कोषाध्यक्ष छत्रमान ताम्राकार, सञ्चालक समिति सदस्यहरू केसर मिया, चेतन कुवर, पुष्पराज भट्ट, र ललित भण्डारी, पत्रकार लोकराज ढकाल तथा कर्मचारीहरू कृष्णा शाही र खेमराज बडुवाल सहभागी थिए।

वाक नेपालकी महासचिव सुशीला बोगटीले पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित परियोजनाहरूको अनुगमन प्रभावकारी भएको बताएकी छन्। उनका अनुसार, “तरकारी खेती, बाख्रा पालन, र सिपमूलक तालिमले स्थानीयहरूको आर्थिक अवस्थामा सुधार ल्याएको देखियो । यो  संस्थाको लक्ष्यअनुसारको सकारात्मक परिणाम हो। उनले  अनुगमनका क्रममा प्राप्त सुझावहरूलाई आगामी योजनामा समेटिने विश्वास व्यक्त गरिन् ।

वाक नेपालका द्वारा सञ्चालित INRL=TP परियोजना र पावर परियोजनाले पञ्चदेवल विनायक नगरपालिकामा शिक्षा, स्वास्थ्य, उद्यमशीलता र जीवनस्तर सुधारमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्। बाख्रा पालन, भैँसी पालन, कृषि उत्पादन, किराना पसल सञ्चालन, र सीपमूलक तालिमहरूले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन मद्दत गरेका छन्। स्थानीयहरूको सकारात्मक प्रतिक्रियाले यस्ता कार्यक्रमको महत्त्व पुष्टि गरेको छ। आगामी दिनमा यस्ता प्रयासहरूलाई निरन्तरता दिँदा समृद्धि र सामाजिक परिवर्तनको गति अझ तीव्र हुने विश्वास लिइएको छ।

Source: https://pahadkhabar.com/content/1196

Leave A Comment

Your Comment
All comments are held for moderation.