अछाममा युवा सूचना केन्द्रको उद्धघाटन

टेकराज भण्डारि, अछाम : अछाम जिल्लामा युवा सूचना केन्द्रको उद्धघाटन गरिएको छ । सदरमुकाम मंगलसेनमा आज युवा सूचना केन्द्र उद्धघाठन गरिएको हो ।
सेभ द चिल्ड्रेन तथा मंगलसेन नगरपालिकाको सहयोग एवं वाक नेपालको सहजीकरणमा अछाम जेसिजले सूचना केन्द्र स्थापना गरेको हो ।
अछाम जेसिजले संचालन गर्ने गरी स्थापना गरिएको युवा सूचना केन्द्रको उद्धघाटन गर्नुहुँदै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले युवाले हरेक सकारात्म र जीवनोपयोगी कुराको ज्ञान पाई जीवनलाई सकारात्मक बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अछाम जेसीज बर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्यौपानेको अध्यक्षतामा भएका कार्यक्रममा नगरप्रमुख बोहराले युवाहरुमा राष्ट्रिय भावनाको विकास गर्दै अघि बढ्नुपर्ने र युवाहरु जागरुक, सचेत र सिर्जनशिल हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय युवा परिषद अछामका अध्यक्ष लिलाराज केसीले युवाहरुको लागि रोजगारी सिर्जना गर्ने कार्यमा सरोकारवाला जिम्मेवार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका सह निर्देशक धन भुषालले आफुहरु बिशेष गरी बालबालिकाको क्षेत्रमा काम गरिरहेको र साझेदारी गर्दै अघि बढ्ने आफ्नो ध्येय अनुसार अछाम जेसिजसंग पनि साझेदारी गरेको बताउनु भयो । प्रतिफल प्राप्तिका लागि साझेदारी अनिवार्य भएको भन्दै सूचना केन्द्र स्थापना भएको अब यसको दिगोपनका लागि आवश्यक योजना बनाउनु पर्ने समेत बताउनु भयो ।
उद्धघाटन कार्यक्रममा सेभ द चिल्ड्रेनका परियोजना प्रवन्धक रत्नराज ओझाले सूचना केन्द्रबाट युवाहरुले विभिन्न सूचना पाउने भन्दै यसलाई आगामी दिनमा थप व्यवस्थित र पहुँचयोग्य बनाउँदै लैजान सुझाव दिनुभयो ।

सेभ द चिल्ड्रेन ईटाली तथा बुलगारी परियोजनाको ४ लाख बढी र मंगलसेन नगरपालिकाको १ लाख ७० हजार आर्थिक सहयोगमा युवा सुचना केन्द्र सञ्चालनमा ल्याईएको हो । पुरानो जिल्ला विकास समितिको कार्यालयमा केन्द्र स्थापना गरिएको छ ।
अछाम जेसिजका पूर्व अध्यक्ष टिकेन्द्र भण्डारीको स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष तुलाराम बिसीले जेसिज आस्था पाठ गराउनु भएको कार्यक्रममा वाक नेपाल अछामका अध्यक्ष मीन बहादुर कुवँर, वाक नेपाल शशक्तिकरण परियोजनाका संयोजक महादेव ओझा, सेभ द चिल्ड्रेनका परियोजना संयोजक ऋषिकेश ढकाल, प्रेम पुन, वाक नेपालका कार्यक्रम संयोजक चेतराज जोशी, अछाम जेसिजका कोषाध्यक्ष दिपिका कुँवर लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन अछाम जेसिजका बर्ष २०२१ का महासचिव टेकराज भण्डारीले गर्नुभएको थियो ।टेकराज भण्डारि, अछाम