Media Coverage

अछाममा बहुद्देश्यीय सुरक्षित आश्रयस्थल निर्माण सम्पन्न, नगरपालिकालाई हस्तान्तरण

अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ९ मा निर्माण गरिएको बहुद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण सम्पन्न भई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

‎विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आपतकालीन अवस्थामा समुदायलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त संरचना अब पूर्ण रूपमा स्थानीय तहको स्वामित्वमा आएको हो।

‎परियोजना परराष्ट्र मन्त्रालय जापान (Ministry of Foreign Affairs of Japan) को आर्थिक सहयोग तथा World Vision Japan मार्फत, World Vision International Nepal र WAC Nepal को साझेदारीमा सञ्चालित “समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण (CBDRR) परियोजना” अन्तर्गत कार्यान्वयन गरिएको हो।

‎नगरपालिकाका अनुसार वडा नं. ९ स्थित स्थानीय समुदायको सक्रिय सहभागिता र समन्वयमा श्री चण्डिका माध्यमिक विद्यालयले उपलब्ध गराएको जग्गामा उक्त भवन निर्माण गरिएको हो।

‎विपद् जोखिम उच्च रहेको क्षेत्रमा सुरक्षित आश्रयस्थलको अभावलाई मध्यनजर गर्दै बहुद्देश्यीय प्रयोगमा आउने गरी संरचना तयार गरिएको जनाइएको छ।

‎निर्माण कार्य २०८१ जेठ ३० गतेबाट सुरु भई २०८२ फागुन २१ गते सम्पन्न भएको हो।

‎कुल लागत करिब रु १ करोड ४५ लाख ८६ हजार ७ सय ६० (१३ प्रतिशत मूल्य अभिवृद्धि करसहित) रहेको बताइएको छ।

‎निर्माण सम्पन्न भएसँगै उक्त योजना WAC Nepal मार्फत पञ्चदेवल विनायक नगरपालिका लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

‎हस्तान्तरणपछि भवनको स्वामित्व, सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब नगरपालिकाले सम्हाल्नेछ।

‎नगर प्रमुख अम्बिका चलाउने ज्यूले एक कार्यक्रमका बीच हस्ताक्षर मार्फत स्वामित्व ग्रहण गर्दै यस्ता पूर्वाधारले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन। उनले स्थानीय तहको क्षमता अभिवृद्धि र समुदायको सुरक्षा सुनिश्चित गर्न यस्ता परियोजनाहरू प्रभावकारी भएको उल्लेख गरिन् ।

‎कार्यक्रममा परियोजनाका साझेदार संस्था, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

‎स्थानीयवासीले पनि विपद् जस्तो संवेदनशील अवस्थामा सुरक्षित आश्रयस्थलको उपलब्धताले ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।

‎दीर्घकालीन रूपमा समुदायको सुरक्षा, उद्धार व्यवस्थापन र अस्थायी बसोबासका लागि उपयोगी हुने अपेक्षा गरिएको उक्त संरचना स्थानीय विकास र विपद् पूर्वतयारीको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

https://pahadkhabar.com/content/1609?fbclid=IwdGRjcARHIrJjbGNrBEcirmV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHqFQiGgkSboyUr3sq5XMQJHiVUgA5Wk7RrU7e6ukWFUXxwk13jA-hRHEmf6b_aem_k7KDpUyYUzEK1fNq2FPvUQ

Leave A Comment

Your Comment
All comments are held for moderation.