अछाममा बहुद्देश्यीय सुरक्षित आश्रयस्थल निर्माण सम्पन्न, नगरपालिकालाई हस्तान्तरण
अछाम । पञ्चदेवल विनायक नगरपालिका वडा नं. ९ मा निर्माण गरिएको बहुद्देश्यीय समावेशी सुरक्षित आश्रयस्थल भवन निर्माण सम्पन्न भई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आपतकालीन अवस्थामा समुदायलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त संरचना अब पूर्ण रूपमा स्थानीय तहको स्वामित्वमा आएको हो।
परियोजना परराष्ट्र मन्त्रालय जापान (Ministry of Foreign Affairs of Japan) को आर्थिक सहयोग तथा World Vision Japan मार्फत, World Vision International Nepal र WAC Nepal को साझेदारीमा सञ्चालित “समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण (CBDRR) परियोजना” अन्तर्गत कार्यान्वयन गरिएको हो।
नगरपालिकाका अनुसार वडा नं. ९ स्थित स्थानीय समुदायको सक्रिय सहभागिता र समन्वयमा श्री चण्डिका माध्यमिक विद्यालयले उपलब्ध गराएको जग्गामा उक्त भवन निर्माण गरिएको हो।
विपद् जोखिम उच्च रहेको क्षेत्रमा सुरक्षित आश्रयस्थलको अभावलाई मध्यनजर गर्दै बहुद्देश्यीय प्रयोगमा आउने गरी संरचना तयार गरिएको जनाइएको छ।
निर्माण कार्य २०८१ जेठ ३० गतेबाट सुरु भई २०८२ फागुन २१ गते सम्पन्न भएको हो।
कुल लागत करिब रु १ करोड ४५ लाख ८६ हजार ७ सय ६० (१३ प्रतिशत मूल्य अभिवृद्धि करसहित) रहेको बताइएको छ।
निर्माण सम्पन्न भएसँगै उक्त योजना WAC Nepal मार्फत पञ्चदेवल विनायक नगरपालिका लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरणपछि भवनको स्वामित्व, सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब नगरपालिकाले सम्हाल्नेछ।
नगर प्रमुख अम्बिका चलाउने ज्यूले एक कार्यक्रमका बीच हस्ताक्षर मार्फत स्वामित्व ग्रहण गर्दै यस्ता पूर्वाधारले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन। उनले स्थानीय तहको क्षमता अभिवृद्धि र समुदायको सुरक्षा सुनिश्चित गर्न यस्ता परियोजनाहरू प्रभावकारी भएको उल्लेख गरिन् ।
कार्यक्रममा परियोजनाका साझेदार संस्था, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
स्थानीयवासीले पनि विपद् जस्तो संवेदनशील अवस्थामा सुरक्षित आश्रयस्थलको उपलब्धताले ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।
दीर्घकालीन रूपमा समुदायको सुरक्षा, उद्धार व्यवस्थापन र अस्थायी बसोबासका लागि उपयोगी हुने अपेक्षा गरिएको उक्त संरचना स्थानीय विकास र विपद् पूर्वतयारीको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
